DIALOGUE EARTH · IN-DEPTH

In-depth

Full environmental reporting, republished responsibly.
News/In-depth/जलवायु
जलवायुDialogue Earth

बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे

हालैका वर्षहरूमा नेपालबाट कामको लागि विदेश जाने मध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तीका कारण जाने गरेको नयाँ अध्ययनले देखाएकाे छ

CC BY-NC-ND 4.0

Republished with attribution for non-commercial use. Article images are omitted because image rights can differ from the article licence.

गत वर्षको नोभेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धी २८औँ अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ का लागि दुबई जान लागेको नेपाली प्रतिनिधि मण्डल जुन विमानमा सवार थियो त्यही विमानमा सवार थिए बर्दिया जिल्लाका प्रेम नेपाली । तर एउटै विमान चढेका उनीहरू दुबई जानुको कारण पूर्ण रूपमा फरक थियो। एकातिर नेपाली अधिकारीहरू विश्वका नेताहरूसँग जलवायु परिवर्तन न्यूनीकरणका लागि छलफल गर्न यात्रा गरिरहेका थिए भने प्रेम नेपाली जलवायु परिवर्तनको प्रभावले धेरै नै मार पारिसकेकाले आफ्नो घर छोड्दै थिए । बर्दिया लगायत मध्य र पश्चिम नेपालमा  लामो समयदेखि पानी पर्नु पर्ने समयसम्म खडेरी पर्ने र धान लगायत बाली भित्र्याउने बेलामा भारी वर्षा हुन थालेको छ । प्रेम खाडीमा रोजगारीको खोजीमा रहेका हजारौं नेपाली आर्थिक आप्रवासीमध्ये एक हुन् । “म पहिलो पटक यहाँ (युएई) आउँदा मेरी छोरी एक वर्षकी मात्र थिइन्। उनी अहिले ११ वर्षकी भइन्,’ ३४ वर्षीय प्रेम भन्छन्। सुरुमा प्रेमले सरसफाइको काम गर्थे । अहिले उनी दुबईको अल बर्सा भन्ने ठाउँमा गाडी मर्मत गर्ने पसलमा सहयोगीको रुपमा काम गर्छन् । “म आफ्नो परिवारसँगै बसेर खेतीपाती गरी जीविकोपार्जन गर्न चाहन्छु। तर कृषि क्षेत्रको उत्पादन घट्दो क्रममा छ । यस्तो अवस्थामा कसरी घरमा बस्ने ?” प्रेम भन्छन् । नेपालमा आर्थिक बसाइँसराइ दशकौं पुरानो चलन भए तापनि पछिल्ला वर्षहरूमा चरम मौसमी घटना र जलवायु परिवर्तनका कारण हुने विपत्तिले मानिसहरूलाई देशबाहिर धकेलेको अनुसन्धानकर्ताहरू बताउँछन्। Recommended एकीकृत अन्तर्राष्ट्रिय  पर्वतीय विकास केन्द्र (इसिमोड)की आप्रवासन विज्ञ अमिना महर्जन भन्छिन्, “नेपालीहरू विदेश  जानुको मुख्य कारण सामाजिक–आर्थिक अवस्था र नेपालमा रोजगारीको अवसरको अभाव हो । तथापि, पछिल्लो समय मानिसहरूले प्राकृतिक विपत्तिपछि आइपर्ने आर्थिक बोझसँग अनुकूलन गर्न शैक्षिक र श्रम आप्रवासनलाई रोज्न थालेको हामीले देखेका छौं ।” मानवअधिकार तथा श्रमअधिकार क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्था इक्विडेमले सन् २०२३मा अमिना महर्जनको अध्ययन प्रतिवेन प्रकाशित छ । “इक्विडेमले अन्तर्वार्ता लिएका कामदारहरू फिलिपिन्स, मोजाम्बिक, बङ्गलादेश, पाकिस्तान र नेपालबाट संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारीका लागि गएका थिए । यी मुलुकहरू सन् २००० देखि २०१९ सम्ममा जलवायु परिवर्तनले सबैभन्दा बढी असर गरेका १० मुलुकमध्येका पाँच मुलुक थिए । “ जलवायु प्रकोपको कारण शैक्षिक आप्रवासन छब्बीस वर्षीय सुन्दर पण्डित हाल अष्ट्रेलियाको सिड्नी शहरमा बस्छन् । तर सन् २०२१ को जुन महिनामा नेपालको मेलम्ची नदीमा ठूलो बाढी नआएको भए आज उनी नेपालमा आफ्नै व्यवसाय गरेर बसिरहेका हुनसक्थे ।  मेलम्ची नदीमा आएको सो बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै थुप्रै भौतिक संरचना ध्वस्त भएको थियो ।  सयौं घर पनि बगाएको थियो । Recommended ‘त्यो बाढीले मलाई शिक्षाको नाममा बसाइँसराइ रोज्न बाध्य बनायो, तर मैले चाहेको वा सपना देखेको कुरा यो होइन,’ द थर्ड पोलसँग फोनमा कुरा गर्दै पण्डितले भने “बाढीले हाम्रो भर्खरै स्थापना गरेको होटेल व्यवसाय डुबायो र ट्राउट माछा फार्म बगायो । हामीले करिब नेपाली रुपैँया ८० लाख ऋण लिएर व्यवसायमा लगानी गरेका थियौं।” मेलम्चीमा आएको बाढी पूर्वी नेपालको ग्रामीण क्षेत्र हेलम्बुमा सुरु भएको थियो र यसले सयौं घरहरू भत्काएको  थियो । भत्किएका घरमध्ये एउटा घर सुन्दर पण्डित र उनको परिवारको थियो । त्यतिखेर पण्डित भर्खरै कलेज सकेर घर फर्केका थिए । कलेजमा उनले हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गरे। चीनमा इन्टर्नसिप गरेका उनले अनुभव बटुल्न नेपाली पर्यटकीय क्षेत्र पोखरा शहरमा समेत काम गरेका थिए । त्यसपछि उनले आफ्नो घर सिन्धुपाल्चोकको चनौटे फर्केर दाइसँग मिलेर हेलम्बु रिभरसाइड रिसोर्ट खोले । “सबै राम्रो भैरहेको थियो । हामीले स्थानीय उत्पादन प्रयोग गरिरहेका थियौं र त्यहाँ माछा फार्म पनि थियो,’ पण्डित भन्छन्। ‘एक वर्षमै हाम्रो व्यवसायले फड्को मार्यो र १२ जना स्थानीयलाई रोजगारी दिइसकेका थियौँ । तर हामीले थप विस्तार गर्ने योजना बनाइरहेको बेला, बाढीले ठूलो प्रहार गऱ्यो र म यहाँ आएँ ।” सन् २०२१ मा नेपाल सरकारको वातावरण विभागले आफ्नो पछिल्लो जोखिम मूल्यांकन प्रतिवेदन प्रकाशित गर्यो । प्रतिवेदनमा सन् २०२१ को मेलम्चीको बाढी जलवायुजन्य प्रकोपका कारण आएको उल्लेख गरिएको छ भने सिन्धुपाल्चोकलाई ‘उच्च प्रभावित’ क्षेत्रको रूपमा वर्गीकरण  गरिएको छ । ‘मेलम्चीको बाढीले हामीलाई गाउँबाट निकालिदियो,’ पण्डित भन्छन्। कतारबाट स्वदेश फर्किएका रामबिन्दो यादव (बायाँबाट दोस्रो) र अन्य नेपाली कामदार काठमाडौँमा (तस्बिर: टंक ढकाल) यो लेखका लागि द थर्ड पोलले ३५ आप्रवासी कामदारको अन्तर्वार्ता लिएको थियो । तीमध्ये एक हुन् ५० वर्षीय रामबिन्दो यादव । हामीले भेटेर कुरा गर्दा यादव काठमाडौँको मुख्य विमानस्थलबाट सिराहाको आफ्नो गाउँ जाने बसको पर्खाइमा थिए । कतार जानु अघि उनी भाडाको जमिनमा खेती गर्थे ।  “तर हालैका वर्षहरूमा खेती गर्न गाह्रो भयो । सिँचाई पनि छैन र आवश्यक परेको बेला पानी पनि आउँदैन ” उनी भन्छन् । राम बिन्दो यादवसँगै धेरै आप्रवासी कामदारहरू कतारबाट फर्कंदै थिए र बस समातेर घर फर्किने क्रममा थिए। ४३ वर्षीय भुरन यादव आफ्नो कथा सुनाउँदै भन्छन्, ‘मेरो परिवारको जीविकोपार्जन कृषिमा निर्भर छ । तर आजकाल वर्षा अनिश्चित हुनथालेको छ र मनसुन र जाडोमा बारम्बार खडेरी पर्न थालेको छ । त्यसैले म कतार जानु परेको हो।’ भुरन यादवको गाउँ धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा पर्छ । यहाँ अधिकांश मानिस कृषिमा निर्भर छन् । उनी भन्छन्, ‘यसले गर्दा प्रायः हरेक परिवारका कम्तीमा एक जना सदस्य खाडी मुलुकमा बस्छन्। धनुषा र सिराहा दुवै जलवायुजन्य विपद्को उच्च जोखिममा छन् । ती जिल्लाहरू हिमालय र नेपालको दक्षिणी सिमानाको बीचमा पर्ने समतल भूभाग तराईमा अवस्थित छन् । यस क्षेत्रमा  एकपछि अर्को खडेरी परिरहेको छ। अनि कहिलेकाहीं, लामो समयसम्म बेमौसमी वर्षाले बालीनाली नष्ट गरिरहेको छ। खेतबारीदेखि विदेशी भूमिसम्म वातावरण विभागको सन् २०२१ को जोखिम मूल्याङ्कन प्रतिवेदनका अनुसार प्राकृतिक जोखिम (मुख्यतः बाढी र पहिरो) नेपालको आर्थिक बसाइँसराइको एउटा प्रमुख कारक तत्व हो । “अधिकांश श्रम शक्ति कृषिमा निर्भर छ र यो क्षेत्र बारम्बार आउने बाढी, खडेरी र पहिरोबाट नराम्ररी प्रभावित हुन्छ। फलस्वरूप, कृषि श्रम शक्ति, विशेष गरी युवाहरू कृषि क्षेत्रबाट टाढा जान्छन् र देश बाहिर सेवा क्षेत्र र श्रम बजारमा रोजगारीका अवसरहरूको खोजी गर्छन्,” प्रतिवेदनमा उल्लेख छ । यसै सन्दर्भमा द थर्ड पोलले आप्रवासन अनुसन्धानकर्ता तथा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालसँग कुराकानी गरेको थियो । अन्य सामाजिक आर्थिक कारकहरूको साथसाथै जलवायु परिवर्तनले निम्त्याएको विपत्तिले मानिसहरूलाई श्रम आप्रवासन रोज्न बाध्य पारिरहेको विषयमा उनी सहमत छन् । “हामीले  उत्तरी नेपालको मुस्ताङ जिल्लाका केही भेडा गोठालाहरूसँग कुरा गरेका थियौं । उनीहरूले पहिले चरनमा आफूसँगै गोठाला गर्ने आफ्ना धेरै साथीहरू हाल खाडीमा रहेको बताए,” बराल सम्झन्छन्। “उनीहरूका अनुसार यसको कारण पर्याप्त हिउँ र वर्षा नहुनु हो।” Recommended हिमालदेखि तराईको दक्षिणी समथर भूभागसम्मका अधिकांश किसानले आफ्नो दैनिक जीवनमा बदलिँदो जलवायुको असर भोगिरहेका छन् । सन् २०२१ को राष्ट्रिय कृषि सर्वेक्षणको निष्कर्षले  यसलाई पुष्टी गरेको छ । जलवायु परिवर्तनको बारे थाहा पाएका कृषक परिवारहरूमध्ये ९१% ले यसले उनीहरूको कृषि गतिविधिहरूलाई असर गरेको बताएका थिए । त्यसमध्ये ८५% ले यसले आफ्नो उत्पादन घटाएको बताए । तर बर्दियाका प्रेम नेपाली अझै पनि आफ्नो जीविकोपार्जनका लागि घर फर्कन चाहन्छन् । “हामीले त्यहाँ जीविकोपार्जनको स्रोतको रूपमा खेतीपाती नै गरेका थियौं । मलाई आशा छ कुनै न कुनै उपायले फेरि खति गर्न सकिनेछ । किनकि म मेरी छोरीलाई हुर्केको हेर्न र उनीसँगै समय बिताउन चाहन्छु,” उनले दुबईबाट फोनमा भने। The post बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे appeared first on Dialogue Earth.

This article was first published by Dialogue Earth. Read its original publication for updates and the original presentation.

View original article ↗